November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

रघुजी पन्तको प्रश्न: प्रधानमन्त्रीको भारत भ्रमणपछि परराष्ट्र नीतिमा खलबल हुन लागेको हो ? 

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीतिमा खलबल आउन लागेको बताएका छन् । बिहीबारको प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो वा खलबल ल्याउन खोजिएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अन्तर्वार्तामा उल्लेख विचारले नेपालको परराष्ट्र नीतिमाथि प्रश्नहरू खडा भएको बताए । उनलेभ भने, ‘नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको छ । पञ्चायत आयो, गयो, बहुदल आयो, लोकतन्त्र आयो, नयाँ संविधान बन्यो । तर नेपालले कहिल्यै पनि परराष्ट्र नीतिमा फेरबदल ल्याएको छैन । तर पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ कि नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो ?’

विदेश सम्बन्धलाई सञ्चालन गर्नेबारे सरकारको नीति स्पष्ट नहुँदा समस्या आउन थालेको उनको आरोप छ । उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जानुभयो, त्यहाँ महांकालमा जानुभयो, गेरु वस्त्र धारण गर्नुभयो, त्यो उहाँको व्यक्तिगत कुरा भयो, म त्यसमा जान चाहन्नँ । तर हाम्रा प्रधानमन्त्री, मन्त्रीहरूले गेरुवा वस्त्र लगाएपछि अब त हुँदाहुँदा हाम्रा राजदूतले पनि विचारमा गेरुवावस्त्र लगाएको देखिन्छ ।’

Advertisement

‘जेठ २९ को कान्तिपुर दैनिकमा हाम्रा राजदूत शंकर शर्माको अन्तरवार्ता छ । त्यसमा उहाँले व्यक्त गरेका केही कुराहरूले, विचारले नेपालको परराष्ट्र नीति कता गइरहेको छ ? भारतमा प्रधानमन्त्रीले के के कुरा गर्नुभयो ? सरकारले उहाँलाई के निर्देशन दिएको छ ? भनेर आशंका पैदा भएको छ । कूटनीतिक दृष्टिकोणले आपत्तिजनक कुराहरू उहाँले राख्नुभएको छ ।’, उनले थपे, ‘उहाँले घुमाउरो भाषामा हिन्दु राष्ट्रको वकालत गर्नुभएको छ । त्यसले नेपालको धर्म निरेपेक्षताको जुन नीति छ, त्यसमा प्रश्न खडा भएको छ । नेपालको संविधानमा धर्म निरपेक्षताको कुरा छ, तर नेपाल सरकारले नियुक्त गरेको राजदूत हिन्दु राज्यको वकालत गर्नुहुन्छ, यो कसरी मिल्छ ? यो कस्तो परराष्ट्र नीति हो ?’

यस्नै सांसद पन्तले राजदूत शर्माले ईपीजीको प्रतिवेदनबारे व्यक्त गरेको धारणा पनि आपत्तिजनक रहेको बताए । उनले भने, ‘एउटा देशका लागि नियुक्त भएको राजदूत जथाभावी धारणा राख्न मिल्दैन । यदि उहाँले बोलेको कुराले सरकारको प्रतिनिधित्व गर्छ भने सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘धर्मनिरपेक्षताबारे सरकारको धारणा के हो ? स्पष्ट गरियोस् ।’