काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । प्रज्ञा भवन कमलादीमा भइरहेको विधान अधिवेशन तीन दिनसम्म चल्ने छ ।
संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो । प्रस्तावित विधानको धारा ५४ मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रबन्ध छ ।
पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू रहने प्रस्ताव गरिएको छ ।
यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने कार्यक्षेत्र पनि तोकिएको छ ।
पहिचानमा आधारित प्रादेशिक संरचनाहरू लिम्बुवान, किरात, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरूहट, खसान र शिल्पी÷दलित विशेष समिति रहने उल्लेख छ ।