काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका कार्यवाहक अध्यक्ष कृष्ण बिश्वकर्माले सामाजिक संजाल फेसबुक मार्फत एकीकृत समाजवादीका पार्टी नेतृत्वलाई खबरदारीका साथ प्रश्नहरु उठाएका छन् । कावा अध्यक्ष विकले कम्युनिष्ट आन्दोलनको अकर्मण्यता तोड्न यस पटकको पार्टी सचिवालय वैठक सफलताको शुभकामना समेत दिएका छन् ।
उनले प्रश्न गरेका छन्, ‘हाम्रो समाजको वर्गचरित्र, नेपाली जनताको प्रधान अन्तरविरोध ? समाजवादी कार्यदिशा, अबको कार्यभार ? हाम्रो विद्रोहको औचित्य ? सांगठनिक अवधारणा,संचालन विधी ? मोर्चावन्दी की कम्युनिष्ट एकतामा जोड ? दलालपुजिवादको नियन्त्रण र राष्ट्रिय पुँजीको विकासमा हाम्रो ठोस प्रस्ताव ? विद्रोहदेखि आजसम्मको कामको निर्मम समीक्षा, अब कसरी संगठन विस्तार गर्छौं, हामीसँग जनता किन जोडिने छन् ?’
नेकपा (एकीकृत समाजवादी) को बैठक सोमबारसम्म स्थगित भएको छ । शनिबारको बैठकमा समाजवादी मोर्चाको बारेमा मोर्चालाई कसरी प्रभावकारी बनाएर लैजाने, यसको कार्यदिशा के हुने भन्ने बारेमा समेत छलफल भएको समाजवादीका एक नेताले बताएको छ ।