काठमाडौं । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ ।
केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ भने केही केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन ।
प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । यस सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरुले सहजीकरण गर्नेछन् ।
भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई नेपाली कांग्रेसले समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनेको छ ।