July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

“सुदन किरातीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएकाहरू तानाशाही”- सरल सहयात्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएकाहरूलाई तानाशाहको संज्ञा दिएका छन् ।

सोमबार सनातनी धार्मिक समुदायहरुले मन्त्री किरातीको राजीनामा माग गर्दै पशुपती क्षेत्रमा गरिएको प्रदर्शनप्रति टिप्पणी गर्दै उनले मन्त्री किरातीले क्रिश्चयन समुदायहरुले आयोजना गरेको एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनको आलोचना भइरहेको बताएका हुन् ।

प्रदर्शनको एक तस्वीर साझा गर्दै पौडेलले सामाजिक संजालमा लेखेका छन्, ‘यिनीहरू कति हदसम्मका तानशाही सोचका पक्षधर हुन् भन्ने उदाहरण हो यो प्रदर्शन । मन्त्री सुदन किराँतीको अभिव्यक्ति जस्ताको तस्तै सबैले सुनेका छन् । धार्मिक एवं सामाजिक समानताको अधिकार संविधानमा निर्दिष्ट अधिकार हो भन्ने विषयलाई अलि बढी जोड दिएर बोलेको बाहेक अरू केही होइन भन्ने छर्लङ्ग छ । एउटा मन्त्रीको सामान्य शैलीमाथी यत्रो तबाहा गर्न खोज्ने मानसिकता भएका समाजका विभिन्न ठेकेदारहरुले समाजका सामान्य उत्पीडित वर्गमाथी जात, धर्मका नाममा के कस्ता ज्यादती गरे होलान ? फेरी पनि जनताको धार्मिक सहिष्णुता र भावना माथी खेलेर राजनीतिक कुत्सित मनसाय पुरा गर्ने सपना नदेख्नु ।’

Advertisement