काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावकलाई भुल्न नहुने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।
आदिवासी जनजातिलाई आफ्नो नेतृत्वबारे अन्यौलमा नबस्न सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक सङ्घर्ष गर्यो, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिवद्ध गर्यो, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ ।”
राजनीतिक रूपमा पहिचान र अधिकार नरूचाउने शक्तिहरूमा आबद्ध हुने तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभाषबाट माथि उठ्न पनि उनले सल्लाह दिए ।
यस्तै, समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको वर्तमान संविधान कसरी रक्षा गर्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।