November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई रिहा गर्न माग गरेको छ । सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईलाई बिना सर्त रिहा गर्न आजपाले माग गरेको हो ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहद्धारा जारी विज्ञप्तिमा प्रसाईलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो’, आजपाको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने कार्य नगर्न भन्दै आजपाले अगाडि भनेको छ, ‘ प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौं ।’