काठमाडौं – निर्वाचन आयोगले नेकपाका दुबै पक्षका छलफलका लागि बोलाएको छ।
आगामी बैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफल गर्न दुबै पक्षलाई बोलाएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भोलि बिहान साढे ११ बजे दुबै पक्षबाट अध्यक्षसहित पार्टीका ५/५ जना आधिकारिक प्रतिनिधिलाई आयोगको कार्यालयमा बोलाएको जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्तिलाई बोलाएको हो।
पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन भएको घोषणा गरेपछि बैशाख १७ गते पहिलो र २७ मा दोस्रो चरणको चुनाव घोषणा गरिएको छ।