November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पुन समाज युकेको १४औं बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न

लन्डन । पुन समाज युकेको १४औं बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । गत शुक्रबार लन्डनस्थित फेल्थाम स्पोर्ट एण्ड लेजर सेन्टरमा बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

पुन समाज युकेका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर र मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन विशेष अतिथि रहेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेम गाहा मगरले नेपाली राजदुतावास र विभिन्न सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर गोर्खाहरुको समान अधिकार, बेलायतमा बस्ने नेपालीहरुको समस्या र अधिकार लगायतको विषयमा सहयोग र पहल गर्ने बताए । उनले पुन समाज युकेले बेलायत र नेपालमा बस्ने पुन समुदायको हित र उत्थानमा महत्वपूर्ण योगदान दिएको भन्दै संस्थालाई धन्यवाद दिनुका साथै पुन समाजसँग सधै सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

Advertisement

यस्तै, कार्यक्रमका विशेष अतिथि सीता पुर्जा पुनले पुन समुदायको उत्थान र प्रगतिको लागि सधै सहयोग र शुभेच्छा रहने बताइन् । मगर संघ र पुन समाज युकेको स्थापनाकालदेखि विशेष सम्बन्ध रहेको स्मरण गराउदै पुर्जा पुनले भविष्यमा पनि उच्च सम्बन्ध रहने विश्वास व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा पुन समाज युकेका अध्यक्ष धनबहादुर पुनले संस्थाको १५ बर्षे लामो यात्रामा बेलायतका पुनहरु र बेलायतमा स्थापित अन्य नेपाली संघसंस्थाहरुको अनुरोधमा कोभिड–१९ महामारी नियन्त्रणका लागि बेलायतका नेशनल हेल्थ सर्भिसमा सहयोग, नेपालमा भुकम्प तथा बाढीपहिरो पीडितहरुलाई सहयोग, नेपालमा पुन समुदायको लागि राष्ट्रिय स्तरको करबाकेली थान संग्राहलय स्थापना लगायत अनेकौ विषयहरुमा पुन समाज युकेले सहयोग गरेको बताए । उनले अग्रजहरुले जुन नीति र उद्देश्य अनुसार संस्थाको स्थापना गरे पुन समाज युके त्यही नीति र उद्देश्य अनुरुप चल्दै आएको बताउदै भविष्यमा पनि त्यसरी नै संस्था अगाडी बढ्ने बताउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद दिएका थिए ।

बेलायतवासी पुन समुदायका बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरुले समेत आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा पुन समुदायमा उच्च शिक्षा हासिल गर्ने, व्यवसायी, सैनिक क्षेत्रको माथिल्लो तहमा पदोनन्ती हुने, समाजमा रहेर विशेष उच्च योगदान दिने र नेपालबाट आएका कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पुन समुदायको ऐतिहासिक पहिचान रहेको पुर्ख्यौली नृत्यसमेत प्रस्तुत गरिएको थियो । समाजको निमन्त्रणमा नेपालदेखि आएका चर्चित गायक गगन पुनले लोक, पप, सोरठी, लोकदोहोरी र पञ्चेवाजा गीतहरु गाएका थिए । गायक पुनले कार्यक्रमको शुरुदेखि अन्त्यसम्म उपस्थित भएका सम्पुर्णलाई गीत गएर भरपुर मनोरञ्जन दिएका थिए ।

पुन समाज युकेका महासचिव रुद्रबहादुर पुनले संचालन गरेको उक्त कार्यक्रममा स्थानीय चर्चित लोकदोहोरी गायिका कल्पना गुरुङ पुन र सिरीप्रसाद पुनले दोहोरी गीतमा प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारहरु आयुष्मा फगामी, सारा पुन, गौरिका गर्बुजा, गीता पुन, खिम पुन, ईशा पुन, शोभा पुन, पुजा पुन, सविना पुन र रितु पुनले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण पुन समाज युकेका फेसबुक पेजबाट गरिएको थियो ।