November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

कुवेतमा रहेका तीन किराँती संस्थाले मनाए संयुक्त रुपमा उभौली पर्व

आकाश शेर्पा यात्री, कुवेत । रोजगारको शिलशिलामा कुवेतमा रहेका किराँतीहरुको संस्था किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा रहेको उभौली पर्व भव्यताका साथ मनाईएको छ ।

कुवेतको फाहाहिल शहरमा अवस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली–५०८२ धुमधामसँग मनाइएको हो ।

‘भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातीको साझा अभियान’ भन्ने नाराका साथ कुवेतमा क्रियाशिल संस्थाले आयोजना गरेको थियो ।

Advertisement

किराँत राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्य, एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाका विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई किरात राई यायोक्खा कुवेतका सचिव रोशन राईले सञ्चालन गरेका थिए।

कार्यक्रममा कुवेतमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खा कुवेतकी सदस्य माया चाम्लिङ राईद्वारा स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा किरात राई जातिको साकेला, लिम्बूको केलाङ, सुनवार जातिको स्याँदर नाच र अन्य सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति मन्जित चाम्लिङ राईले सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेका थिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली संघ-संस्था, समाजसेवी, बुद्धिजीवी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रमको समापन गरे।