शारदा भुजेल, दोहा । नेपाल पत्रकार महासंघ (एफएनजे) को कतार शाखाले नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईलाई कतारमा सम्मान गरेको छ । शाखाको १६औं स्थापना दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर भट्टराई सहित संस्थापक सदस्य क्रान्ति सिंह, सरोज बास्तोला र पत्रकार रमेश ढकाललाई सम्मान गरिएको हो ।
त्यस्तै शाखाका अनुशासन विभाग संयोजक तथा दीप संचार मिडियाका प्रधान सम्पदक दिपजङ्ग शाह र शाखाका सदस्य सन्तोष केसीलाई उत्कृष्ट पत्रकारिताका लागि प्रोत्साहन पत्रले सम्मान गरिएको थियो ।
शाखाका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व एवं नेपाली राजदूतावास कतारका द्वितीय सचिव भट्टराईको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा भट्टराईले चार बर्षको कतार बसाईको क्रममा पहिलो पटक महासंघ कतारबाट सम्मानित भएकोमा आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा गैर–आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष आर. के. शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, युवा संयोजक अब्दुल बासिद, अगुवा समाजसेवी तथा व्यवसायी सागर नेपाल, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता पौडेल भण्डारी, एफएनजे कतार शाखा पूर्व सचिव मोहम्मद अजिज अलि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
दोहास्थित शालिमार रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
शाखाका अनुशासन विभाग संयोजक शाहले शाखाको औचित्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए भने र संस्थापक सदस्य एवं सल्लाहकार क्रान्ति सिंहले सामुदायिक पत्रकारिता र शाखाको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।
कतारमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील पत्रकार, सामुदायिक तथा सामाजिक संघ सस्था साङ्गीतिक संघ संस्थाका प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण शाखाका सचिव अर्जुन पौडेलले गरेका थिए ।