लन्डन । गैर–आवासीय नेपाली महासंघ (एनआरएनए) यूकेले नेपालका बैज्ञानिक तथा आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनलाई सम्मान तथा स्वागत गरेको छ । हाल बेलायतमा रहेका पुनलाई शुक्रबार साँझ अल्डरसटस्थित आफ्नै कर्यालयमा अध्यक्ष प्रेम गाहामगरले डा पुष्पगुच्छा र खादाले सम्मान गरेका हुन् । सम्मान कार्यक्रम पछि अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा पुनले सम्मानका लागि एनआरएनए यूकेलाई धन्यवाद दिए । सन् १९९२ मा अमेरिकाबाट फर्किएर समाजसेवामा लागेका पुनले आविष्कार केन्द्र स्थापनाको उद्देश्य र आवश्यकताबारे औंल्याए ।
पुनले देश र समाज रुपान्तरणका लागि युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने र त्यो देशलाई समृद्धि बनाएमात्र सम्भव हुने उनको भनाइ थियो । ‘धनी देशहरुले महत्वपूर्ण पूँजी परिचालन गरेर मात्र देश समृद्धि भएको रहेछ, अर्थतन्त्र राम्रो बनेको रहेछ । अनुसन्धान, अन्वेषणमा मानव पूँजी परिचालन गरेर मात्र समृद्धि सम्भव छ । हामी पैसा–पैसा भन्छौं, तर पैसा भन्दा ठूलो पूँजी मानीस हो ।’, उनले भने ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख संरक्षक शेरबहादुर सुनारले महावीर पुनको व्यक्तित्व र सामाजिक कार्यको चर्चा गर्दै पुन र कुलमान घिसिङहरु देशका सच्चा सपुत भएको बताए । आफ्नो देश र गाउँको विकासका लागि अमेरिका बसाइ समेत छाडेर स्वदेश फर्कनु उनको ठूलो त्याग भएको उनले बताए ।

यस्तै, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वैज्ञानिक डा पुन देशको सान र गौरव भएको बताए । देश समृद्ध नहुँदा प्रवासमा रहनु परेको उनको भनाइ थियो । गैर–आवासीय नेपालीहरु देशका लागि ज्ञान र सीप प्रदान गर्न सधैं इच्छुक रहेको पनि अध्यक्ष मगरले उल्लेख गरे । आविष्कार केन्द्रलाई ठूलो रकम आवश्यक भएको अवस्थामा एनआरएनएले हातेमालो गर्ने अध्यक्ष मगरले बताए । यस्तै गैर–आवासीय नेपालीलाई दोहोरो नागरिकताको प्रत्याभूति नभएसम्म देशमा लगानी तथा अन्य कामका लागि आत्मबल नहुने बताउंदै उनले नेपाल सरकारलाई यसतर्फ गम्भीर भएर सोच्न आग्रह गरे ।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काउन्सिलर रामकुमार लिम्बु, आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपाने लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द खरेलले सञ्चालन गरेका थिए ।