November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

गण्डकी प्रदेशसभा : कोरोना संक्रमण देखिएका सांसदलाई पनि मतदानमा सहभागी गराईने

 काठमाडौं – गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सभा सांसद राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण देखिएको हो ।

संक्रमित देखिएका पहारी र कोइराला नेकपा (एमाले)का सांसद हुन् भने गुरुङ नेपाली कांग्रेसकी सांसद हुन् । यसअघि मंगलबारको बैठकमा पहारीलगायत एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

एमालेका सांसदको मागबमोजिम नै प्रदेशसभाले कोरोना परीक्षण गराएका हो । परीक्षणमा पोजेटिभ देखिएका सबै संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ ।

Advertisement

संक्रमितलाई पनि मतदानमा सहभागी गराईने

सोमबारदेखि सुरु गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ । बैठकमा कतिपय नाम लेखाएका सांसदले बोल्ने क्रम बाँकी नै छ ।

मंगलबार एमालेको अवरोधका कारण स्थगित बैठक कोरोना परीक्षणसँगै निरन्तर हुने बताइएको छ । जनाइएअनुसार प्रदेशसभाको कार्यव्यवस्था समितिले बैठकमा कोरोना संक्रमण देखिएका सांसदलाई बोल्न नदिने तर अविश्वासको प्रस्तावमा भने मतदान गर्न दिने निर्णय गरेको छ । अविश्वासको प्रस्तावमाथि बुधबार या बिहिबार मतदान हुने सम्भावना छ ।

मुख्यमन्त्री गुरुङविरुद्व कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर गत वैशाख २ मा अविश्वासको प्रस्ताव ल्याएका थिए ।