जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ‘छापामार’ शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।
अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको ‘छापामार’ शैलीको विरोध गरेका छन्।
पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको नियत ठीक नभएको स्पष्ट देखिएको छ। एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने यसभित्र जरुर कुनै रहस्य लुकेको हुनु पर्छ। पक्कै पनि यस घटनामा अरू नै तत्व मिलेका छन्। प्रदेश र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो घटना गराइएको हो।’
मुख्यमन्त्री राउतले अख्तियारको शैली ठीक नभएको सम्बन्धमा आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानीसमेत गरेको बताए। उनले भने, ‘अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गरेका छन्।’
‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरीका आधारमा काठमाण्डौं र बर्दिबासबाट खटिएको अख्तियारको संयुक्त टोलीले बुधबार दिउँसो छापा मारेको थियो। टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएर गएको छ।
उनले साइकल कम्पनीबाटै र बजार मूल्यभन्दा सस्तोमा किनेको दाबीसमेत गरेका छन्। उनले भ्रष्टाचार र अनियमितताको समाचारमा कुनै सत्यता नभएको र भ्रामक भएको दाबी गर्दैे भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षड्यन्त्र हो।’
प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाए।
उनको कथन थियो, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंमा एउटा स्टेटको प्रमुखको कार्यालय हो। कुनै निकायलाई केही बुझ्नु परे, फाइल अध्ययन गर्नु परे माग्ने एउटा तरिका हुन्छ, सुशासनको सवालमा म आफैं खुल्ला किताब हुँ।’
मुख्यमन्त्री राउतले साइकल खरिदमा कहीं कतै अनियमितता भए कारबाही गर्न आफू सघाउन तयार रहेको बताए। ‘तर, एउटा संस्थालाई नै बदनाम गराउने किसिमले अख्तियारले मारेको छापा सरासर गलत हो, यो सह्य हुन सक्दैन,’ उनले भने।