November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

मधेश प्रदेश : विधेयक सर्वसम्मत पारित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभा बैठकले जाँचबुझ आयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बुधबार सर्वसम्मत पारित गरेको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पेस गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले बताए।

मन्त्री साहले पेस गरेको जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपले पारित भएको हो।

Advertisement

जाँचबुझ आयोगमा अदालतका पूर्वन्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्वसचिव वा उपसचिव र सम्बन्धित विषयका विज्ञसहित अन्य बढीमा दुईजना सदस्य रहनेछन्।

सरकारले प्रदेशभित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोगको गठनसम्बन्धी विधेयक ल्याएको थियो।

आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था प्रदेश सरकारले गर्नेछ।

विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक परमेश्वर साहले कानुन कार्यान्वयनमा मधेश प्रदेश सरकार फितलो रहेको आरोप लगाएका छन्। 

प्रदेश सभाको अर्को बैठक फागुन १ गते बस्नेछ।