September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

प्रदेश १ नामकरण विवाद: पहिचान पक्षधर र सरकारबीच भोलि वार्ता हुने

काठमाडौं । ‘कोशी’ नामकरणविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता हुने भएको छ। सोमबार बिहान विराटनगरमा दुवै पक्षबीच वार्ता हुन सक्ने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिएका छन् ।

‘सायद भोलि बार्ता हुन सक्छ ।’, अध्यक्ष येत्तेनले भने । सराकारी स्रोतले भने सोमबार बिहान विराटनगरस्थित होटल बिगमा वार्ता हुने तय भएको बताएको छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको छ। 
प्रदेशका दुई सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ छाडेपछि प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाएको थियो। नामबारे कुनै बहस नहुने बताउँदै आएका मुख्यमन्त्री हिक्मत कार्कीले आफू अल्पमतमा परेपछि भने वार्ता समिति बनाएका थिए। 

Advertisement

खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको समिति बनाएर सरकारले वार्ता आह्वान गरेको थियो। 

सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले पनि आइतबार समिति बनाएको हो। समितिमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन्।