काठमाडौं । साहित्यिक पत्रकार संघले राष्ट्रिय धान दिवस एवम् दही चिउरा खाने दिनको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
‘जलवायुमैत्री प्रविधि: धानमा आत्मनिर्भरता र समृद्धि’ नारासहित
सम्पन्न कार्यक्रमका सभापतित्व संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए।
कार्यक्रममा व्यवसायी तथा समाजसेवी राजुप्रसाद चौलागाईलाई कलाकार मदनदास श्रेष्ठले एस.एस.फाउन्डेसन र साहित्यिक पत्रकार संघको तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए।
सम्मानपत्र प्रदान गर्दै कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय धान दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए। पहिले नेपालले विदेशमा धान निर्यात गर्थ्यो भने हाल आयात गर्नुपर्नुमा राजनीतिको खेल भएको उनलेे बताए।
सम्मानपत्र ग्रहण गर्दै राजुप्रसाद चौलागाईंले आफूलाई सम्मानित गरेकोमा खुशी प्रकट गरे। उनले एस.एस.फाउन्डेसन र समाजसेवी सोभित उप्रेती तथा साहित्यिक पत्रकार संघप्रति आभार प्रकट पनि गरेका थिए।
आवश्यक परेका बखत आर्थिक र कुनै पनि भौतिक सहयोग पुर्याउन आफ्नो साथ रहने वचन पनि उनलेे दिएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा सापसका अध्यक्ष लेकालीले कुनै बेला धान निर्यात गर्ने देश आज आयातमा भर परेकोमा दु:ख व्यक्त गरेका थिए।
गत वर्ष गोकर्ण निवासी एक किसानको खेतमा साहित्यकारहरू रोपाइँ गर्न गएको स्मरण गर्दै उनले यसपटक प्रतिकूल मौसमका कारण धान रोप्न नगई धान दिवस मनाउनु परेकोमा चिन्ता व्यक्त गरेका थिए। धान दिवसका दिन दही चिउरा खाने चलनको प्रसङ्गमा उनलेे नेपाली संस्कृतिमा दहीको ठूलो महत्त्व रहेको बताए। मन्तव्यकै क्रममा उनलेे स्वरचित असार १५ गते शीर्षकको एउटा कविता वाचन गरेर सुनाएका थिए।
साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष कवि नरेन्द्रबहादुर श्रेष्ठले पनि धान रोपाइँकै बारेमा लेखिएको कविता वाचन गरेर सुनाएका थिए।
कार्यक्रममा चर्चित गायिका रितु कंडेलले असारे गीत तथा जनकविकेशरी धर्मराज थापाको ‘हो हो माले हो’बोलको गीत र गीतकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’द्वारा रचित गीत ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ गाएर सुनाएकी थिइन्।
साहित्यकार, कलाकार र स्थानीय बासिन्दाहरूको उपस्थितिले खचाखच भएको कार्यक्रमको सञ्चालन चर्चित गायक नरहरि प्रेमीले गरेका थिए।