काठमाडौं : राष्ट्रपति विद्योदेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन्। यससँगै भण्डारीले दुई दिनमा ८ अध्यादेश जारी गरेकी छन्। भण्डारीले मंगलबार मात्र विभिन्न सात अध्यादेश जारी गरेकी थिइन्।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार जारी भएका अध्यादेशअनुसार यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केहि ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ छन्।
यस्तै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, समाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरिएको थियो।
