काठमाडौं : कास्की, बाँके र पाल्पामा बिहीबार रातिदेखि अहिले शुक्रबार दिउँसो सम्ममा थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ। कास्की र बाँकेमा सात/सात तथा पाल्पामा चार जनाको ज्यान गएको सम्बन्धित जिल्ला स्वाथ्य कार्यलयले जनाएका छन्।
कास्कीको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आवश्यकता अनुसार अक्सिजनको मात्रा आपूर्ति हुन नसकेपछि सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेशमा आवश्यकता अनुसार अक्सिजनको मात्रा उपलब्ध रहेको स्वास्थ्य निर्देशनालयले दाबी गर्दै आए पनि बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म पश्चिमाञ्चल अस्पतालमा मात्रै सात संक्रमितको मृत्यु भएको हो।
अस्पतालमा हाई फ्लोको अक्सिजन आवश्यक रहेको भए पनि आवश्यकताअनुसार अक्सिजन उपलब्ध हुन नसक्दा सुत्केरीसहित सात जनाको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलयले जनाएको छ। मृत्यु हुनेमा तनहुँका तीन तथा कास्की स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको पश्चिमाञ्चल अस्पताल कोभिड वार्डका फोकल पर्सन डाक्टर शरदचन्द्र बरालले जानकारी दिए।
यस्तै, बाँकेमा कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ६ जना र एक जना को नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा ३४ देखि ६९ बर्षसम्मका संक्रमित रहेका छन्। यो सहित बाँके जिल्लामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय ८८ र बाहिरी जिल्लाका २७० जनाको मृत्यु भएको छ ।
यस्तै, पाल्पामा तानसेन नगरपालिका र रम्भा गाउँपालिका एक/एक तथा रैनादेवी छहरा गाउँपालिकाका दुई गरी चार संक्रमितको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलयले जनाएको छ।