November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

विकासको नमूना नगर बन्दै लहान

लहान – सिरहाको लहान नगरपालिका पछिल्लो समय विकासको नमूना नगरको रुपमा परिचित हुन थालेको छ । विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरक्षेत्रमा विकासको लहर तीव्र रुपमा शुरु भएको हो ।

नगरपालिकाले मुख्यतः भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालेपछि लहान अहिले विस्तारै आफ्नो स्वरुप फेरिन थालेको छ । विगतमा अतिक्रमण र कुरुप शहरको रुपमा पहिचान बनाउँदै आएको लहान नगरपालिका अहिले सडक अतिक्रमण गरी बनाइएका छाप्रो हटाउनेदेखि सडकको स्तरोन्नतिको कार्यलाई तीव्रता दिएको छ । यसले विकासको अनुभूति हुन थालेको लहान नगरपालिका–८ का सत्यनारायण चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बजार क्षेत्रमा सार्वजनिक सडक अतिक्रमण गरी छाप्रो ठड्याउने क्रम बढेको थियो, जनप्रतिनिधि आएपछि अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना हटाउनेदेखि सडक पूर्वाधार निर्माणमा जोड दिएको देखिन्छ ।” साँघुरो सडकका कारण सधैंँ ट्राफिक जाम हुने लहानका मुख्य तथा सहायक सडक यतिबेला जनप्रतिनिधिको सक्रियतामा फराकिलो र कालोपत्र भएको उहाँको भनाइ छ । ‘‘बीस वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माण प्रायः ठप्प भएको थियो”, स्थानीयवासी सुभाष साहले भन्नुभयो, ‘‘जनप्रतिनिधि आएपछि नगरपालिकामा विकासको लहर नै चलेको आभास भइरहेको छ ।” उहाँका अनुसार पूर्व—पश्चिम राजमार्गमा पर्ने लहान बजारमा बाटो स्तरोन्नतिसँगै पानी निकासका लागि नाला निर्माणको काम धमाधम हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

Advertisement

बाटो स्तरोन्नतिका साथै यातायात आवागमन सहज बनाउन नगरक्षेत्रमा व्यवस्थित बसपार्कसमेत सञ्चालनमा ल्याएका कारण दुर्घटनाको जोखिमसमेत कम भएको उहाँको भनाइ छ । कूल १६७ दशमलव १७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका क्षेत्रभित्रका करिब १० किलोमिटर सडक कालोपत्र र १८ किलोमिटरभन्दा बढी कृषि सडक ग्राभेल भइसकेको जनाइएको छ । यसका साथै ती कृषि सडकमा आधादर्जन पुलसमेत निर्माण गरिएको छ । लहान बजारको सौन्दर्यकरणसँगै आर्थिक स्रोतको रुपमा रहेको तरकारी हाटबजार, पार्क, सलहेश दीनाभद्री सपिङ कम्पलेक्स तथा घण्टाघर निर्माणको कार्यलाई महत्वाकांक्षी योजनाको रुपमा नगरपालिकाले अगाडि बढाएको छ । नेपालकै सबैभन्दा बढी वडा अर्थात् २४ वडा रहेको यो नगरपालिकाको सबै वडालाई सडक सञ्जालमा जोड्ने गरी चक्रपथ निर्माणका लागि डिपिआर तयार पारेर सडक पूर्वाधार विकासमा जोड दिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताउनुभयो ।

कूल ९१ हजार ७६६ जनसङ्ख्या रहेको लहान नगरपालिकामा कूल जनसङ्ख्याको करिब १५ प्रतिशत विपन्न परिवार रहेको तथ्यलाई मनन गर्दै गरिब, विपन्न र दलित परिवारका लागि नगरपालिकाले नमूना एकीकृत बस्ती निर्माणको योजनालाई महत्वका साथ अघि बढाएको उहाँको भनाइ छ ।