काठमाडौ । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूले अनाधिकृत रूपमा विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएको भन्दा बढी भाडा असुल गरेको प्रहरीले बताएको छ । उनीहरू टिकट काउन्टरमा आवद्ध भई विना परिचयपत्र अनाधिकृत रूपमा टिकट बेचिरहेको आरोप छ ।
सो आरोपमा चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसारीका सविन राई, काठमाडौंका राज ठकुरी, दाङका विशाल गुरूङ र कैलालीका रमेश कठायत पक्राउ परेका छन् । त्यसैगरी काठमाण्डौंको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बिनोद राना पक्राउ परेका हुन् ।
उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिने प्रहरी महाशाखाले जनाएको छ । दसै–तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थियो ।