काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानमा परी मुुुलुकभर १७७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते र ३२ जना बेपत्ता भएका छन् ।
भारी वर्षाका कारण २६ जिल्ला प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ । सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ ।
गृहमन्त्रालयबाट आइतबार प्राप्त पछिल्लो तथ्याङ्क अनुसार ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो । अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् ।
कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन। सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ। धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ ।
प्रदेश नम्बर १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदेश नम्बर १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् ।
यस प्रदेशको पाँचथरमा ३० जनाको मृत्यु भएको छ त्यसपछि इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् ।
प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् ।
बागमती प्रदेशको सिन्धुली प्रभावित भएको जनाइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जनाइएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका पाँच जिल्ला प्रभावित भएको छ । ती जिल्लामा आठजनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ । जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार घाइते छन् ।
सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ को मृत्यु भएको छ भने २२ बेपत्ता छन् । १७ जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ ।
बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् ।
मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण भारी वर्षा वर्षा हुँदा नेपालले ठूलो क्षती बेहोरेको छ ।