ईलाम । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे टोक्दै झारफुक गर्दा श्रीमती र छोरीको निधन भएको हो ।
प्रहरीका अनुसार उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्दा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफुक गर्ने क्रममा उनले श्रीमती र छोरीको हत्या गरेको बताइएको छ ।
घटनालगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।