November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

प्रख्यात वैज्ञानिक विल्सनको निधन

काठमाडौँ — जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको निधनको खबर ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार मात्रै सार्वजनिक गरेको हो ।

हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष अध्यापन गरेका प्रा डा विल्सन किट विज्ञानका ज्ञातासमेत थिए । उनले प्राकृतिक छनोट र अन्य कारक तत्वहरूले जीवहरूको बानीमा के-कसरी असर गर्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।

इभोलुसनरी बायोलोजीमा सन् १९५०को दशकदेखि काम गरे ल्सनले जैविक विविधताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । जैविक विविधताका अध्येता एवं नास्टका प्राज्ञ डा. दिनेशराज भुजु जैविक विविधताको महत्वलाई जनस्तरमा स्थापित गर्ने श्रेय विल्सनलाई जाने बताउँछन् । ‘यो विषयलाई हरेक राष्ट्रहरुको नीतिगत तहमा पुर्‍याउने महत्वपूर्ण योगदान विल्सनको रह्यो,’ उनले भने ।

Advertisement

विल्सनले विभिन्न क्षेत्रमा किन विविध प्रकारका प्रजाति पाइन्छन् भन्ने विषयमा पनि अनुसन्धान गरेका थिए । कमिलाको भौगोलिक अवस्था, पुराना प्रजातिबाट कसरी नयाँ प्रजातिको विकास भयो भन्ने सम्बन्धमा विल्सनको धेरै योगदान रह्यो ।

यी अमेरिकी जीवशास्त्रीले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए । यस्तै, क्रम विकास(इभोलुसन) र किट विज्ञानमा पनि उनको उत्तिकै योगदान रह्यो ।