November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

नक्कली मह उत्पादन गर्ने ज्याठाका नरबहादुर श्रेष्ठ पक्राउ

भक्तपुर । नक्कली मह उत्पादन गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठ रहेका छन् ।

उनले ज्याठामा कम्पनी सञ्चालन गरी काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीेले मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएका थिए । त्यो कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तो मह काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री हुन्थ्यो ।

श्रेष्ठको पसलबाट ६०० किलो तयारी मह, ६ हजार ५ सय किलो कच्चा र गुणस्तरहीन मह, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो, जोख्ने मेसिन, सिल मेसिनलगायत बरामद भएको छ ।

३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट प्रयोग गरी श्रेष्ठले नक्कली मह उत्पादन गर्ने गरेको प्रहरीले जनाएको छ । स्पर्श हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा गुणस्तर अनुरुप नरहेको पाइएको छ ।