हेटौंडा : बागमती प्रदेशका पशुहरूमा खोरेतको महामारी देखिएको छ। नेपालभरि नै मानिसमा कोरोना संक्रमण फैलिरहँदा बागमती प्रदेशको पशुहरूमा पनि खोरेतको महामारी देखिएको हो।
प्रदेशको विशेषगरि खुर फाट्टिएको पशुमा खोरेतको संक्रमण देखिएको छ। हरेक वर्ष पशुमा खोरेत देखिने गरेको भएपनि यो वर्ष खोरेत महामारीकै रुपमा संक्रमण फैलिइरहेको छ। बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म प्रदेशको रसुवा र नुवाकोटबाहेक अन्य सबै जिल्लाका पशुमा खोरेतको संक्रमण देखिएको छ।
प्रदेशको ११ जिल्लाका पशुमा खोरेतको महामारी फैलिएको भएपनि हालसम्म मन्त्रालयमा तथ्यांक आइपुगेको छैन। बागमती प्रदेशमा खोरेतले महामारीको रुप लिएको भएपनि हालसम्म प्रदेशभरिका कति पशुलाई खोरेत संक्रमण भयो र कति यसबाट मरे भन्ने तथ्यांक मन्त्रालयसँग छैन।