काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
यससँगै पाँचौ वरीयताका नाडालले २१ औं पटक ग्रान्डस्लाम उपाधि जित्दै कीर्तिमान बनाएका छन् । ५ घण्टा तथा २४ मिनेट चलेको फाइनलमा विश्व नम्बर २ डानिल मेदभेदेबलाई ३–२ को सेटमा पराजित गर्दै नाडालले उपाधि हात पारे । नाडालको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो ।
नाडालले फ्रेन्च ओपन १३ पटक, विम्वल्डन २ पटक तथा युएस ओपन ४ पटक जितेका छन् । नोभाक जोकोभिच र रोजर फेडररले समान २०–२० पटक ग्रान्ड स्लाम हात पारेका छन् । नाडालले फाइनलमा २ सेटले पछि परेपनि लगातार ३ सेट जित्दै उपाधि चुमे । मेदभेदेभले पहिलो सेट ६–२ तथा दोस्रो सेट ७–६ (७–५) ले जितेका थिए ।
तर नाडालले लगातार तेस्रो र चौथो सेट जित्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाए । नाडालले तेस्रो सेट ६–४ र चौथो सेट पनि ६–४ ले आफ्नो पक्षमा पारे । नाडालले पाँचौ सेट ७–५ ले जिते । मेदभेदेभले भने दोस्रो पटक ग्रान्ड स्लाम जित्न असफल भए ।
यस अघि मेदभेदेभले युएस ओपनको उपाधि हात पारेका थिए ।