November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रधानसेनापति खुला म्याराथन फागुन १४ मा हुने

काठमाडौं । ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता आगामी फागुन १४ गते हुने भएको छ । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा गरिने नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।

केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतका अनुसार पुरुष म्याराथन तथा २१ किमी महिला–पुरुष हाफ म्याराथन गर्न लागिएको हो ।

त्यस्तै, सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुनेछ ।

Advertisement

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ । म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक तथा काठमाडौँ महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्ने छ ।

म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप पनि मोटरसाइकल उपलब्ध हुनेछ । ती सबै स्पर्धामा करिब एक हजार १५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

सेनाका अनुसार प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र सस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ताको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, पत्रकार खेलकुद मञ्चका धावक प्रतिनिधि तथा अन्य आमन्त्रितले भाग लिनेछन् ।

सेनाले मनोरञ्जनका लागि खेल नामाकरण गरी ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नाराका साथ विसं २०७२ बाट प्रतियोगिता आरम्भ गरेको हो ।