काठमाडौं । भ्लगर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुली गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई ब्राउनसुगर र गाँजासहित पक्राउ गरिएको हो। काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए।
बागमती प्रदेश ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गरेको थियो।
उनीमाथि तलासी लिँदा ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरमा ६.९४० ग्राम गाँजासमेत फेला परेको प्रहरीले बताए ।
कार्कीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
म्युजिक प्रड्युसर समेत रहेका कार्की विभिन्न भ्लग भिडियोहरू बनाइ युट्युबमा लगाउने गर्छन् । उनको युट्युब च्यानलमा ५ लाख ७० हजार सब्सक्राइबर छन्।