विराटनगर । तीन हत्याकाण्डमा संलग्न थप दुई जना आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका वडा नं. –३ आमतोलाका ३३ वर्षीय मोहमद सुभाम र सुनसरीको देवान्गन्ज गाउँपालिका वडा नं. –६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू लो प्रोफाइलमा मान्छे भएको र थोरै पैसा भए पनि लोभिएर हत्यामा संलग्न भएको देखिन्छ । उनिहरूलाई सप्तरीका शम्भुकुमार चौधरी र सुनसरीका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको हो
प्रहरीले यस अघि मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दिनानाथ सोनार, घटनाका योजनाकार भनिने सिरहाको सिरहा नगरपालिका २१ का वर्ष ३१ को अनिल कुमार मण्डल र धनपालथान ७ कमलपुर पश्चिम टोल बस्ने वर्ष ६२ को नासिर आलमलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ ।
माघ १३ गते मोरङको धनपालथान गाउँपालिका-७ बोर्डिङ टोलस्थित उखुबारीमा २ वटा पुरुषको शव भेटिएको थियो । अनुसन्धानबाट खाल्डामा गाडिएका अवस्थामा फेला परेका ती शवहरू सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु चौधरी भएको खुलेको थियो ।
दुईजनाको हत्यापछि पक्राउ परेका आरोपितहरूसँग प्रहरीले सोधपुछ गर्दै जाँदा अर्का एक व्यक्ति समेतको हत्या भएको खुल्यो। प्रहरीले तेह्रथुम घर भई काठमाडौंको गोठाटार बस्ने ६२ वर्षीय मोहनप्रसाद लिम्बूको हत्या गरि ललितपुरको ठेचोंको एक घर पछाडि खाल्डा खनी पुरिएको अवस्थामा फेला पारेको थियो । उक्त घर मण्डलले गोदाम चलाउने भन्दै भाडामा लिएका थिए।
प्रहरीका अनुसार तीन जना मृतक र मण्डल व्यापारिक पार्टनर थिए । लिम्बूको शव सबैभन्दा अन्तिममा फेला परेको तर हत्या सबैभन्दा सुरूमा उनको हत्या भएको थियो। उनको हत्या मंसिर २८ गते भएको थियो । मण्डललगायतले मिलेर सुरूमा घाँटी कसेर हत्या गरेको खुलेको छ।