November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

परपुरुषसँग मिलेर श्रीमानकाे हत्या

दाङ : श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका-३ बसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरी र गढवा-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उमादेवीले ५४ वर्षीय श्रीमान लप्टेन चौधरी फागुन १ गते गोबरडिहा जान्छु भनी घरबाट गएको तर घर नआएको र कतै फेला नपरेको भनी श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।

खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ बजे गढवा गाउँपालिका-२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो। मृतक चौधरीका छिमेकीहरूले घटना शंकास्पद रहेको र मृतक र उनको श्रीमतीको लामो समय देखि सम्बन्ध राम्रो नभएको र उमादेवीको अर्कै पुरुषसँग अवैध सम्बन्ध रहेको बताएका थिए।

Advertisement

सोही क्रममा प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भनी श्रीमानले बेइज्जत गरेको र मृतक लप्टेनले कुटपिट गरेपछि आफूहरूले मिलेर श्रीमानको हत्या गर्ने योजना बनाएको प्रहरीलाई बयान दिएकी छिन्।