मकाउ । नेपाली जनसम्पर्क समिति मकाउले पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान गरेको छ । नेपाली काँग्रेसको प्रवास समितिको रूपमा सक्रिय रहेको नेपाली जनसम्पर्क समिति मकाउले बिहीवार मकाउस्थित विभिन्न क्षेत्रमा कार्यरत आफ्ना सदस्यहरू माझ नेपालीहरूको विशेष पर्व, रङहरूको पर्व होलीको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो ।
यस वर्षको होली पर्व मनाउने क्रममा कोताई कुलवानको पाण्डा पार्कबाट माथि आमा टेम्पल हुँदै हाक्सा विचसम्म पदयात्रा गरेर कार्यक्रमको समापन गरिएको थियो ।
होली पर्वको अवसर पारेर आयोजना गरिएको पदयात्रामा आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीम कुमार राई, हेल्पिङ हेण्ड्स मकाउका कार्यबाहक अध्यक्ष कल बहादुर तमाङ ,किराँत यायोक्खाका सल्लाहकार कृष्ण याम्फू राई तथा मगर संघ मकाउका साँस्कृतिक संयोजक त्रिपक श्रीष लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको समेत सहभागिता रहेको समितिका प्रवक्ता ज्ञानेन्द्र राउतले जानकारी दिए ।
कोभिड–१९ महामारी र व्यस्तताको बाबजुद पनि भीडभाड र आवश्यक स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै होली पर्वलाई पदयात्रा गरेर पृथक शैलीमा मनाउन सहभागिता जनाउने सम्पुर्णमा सभापति चण्डी योङ्याले शुभकामना तथा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको संचालन समितिको वरिष्ठ उपाध्यक्ष श्रीमती निर्मला थापामगरले गरेकी थिइन् ।