November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा खिम्ती पावर सब–स्टेसनको उद्घाटन

काठमाडौं । खिम्ती पावर सब–स्टेसनको उद्घाटन भएको छ । शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।

खिम्ती सब–स्टेसन २२०÷१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सब–स्टेसन निर्माणको काम पूरा भएको हो ।

खिम्ती पावर सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।

Advertisement

न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।

सबस्टेसनको उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।