November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रेमिका खोसेको निहुँमा एक युवकमाथि खुकुरी प्रहार

काठमाडौं । प्रेमिका खोसेको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । बुधबार काठमाडौंको शंखमुलमा १० जनाको समूहले खुकुरी प्रहार गर्दा दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुरजलाई खुकुरी हान्ने मध्येका ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तान रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको थाहा भएको छ । शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए । खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ ।

Advertisement

खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी र दोलखा बैत्यश्वर गाउँपालिका घर भएका विकास लामा फरार छन् । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको प्रहरीले जनाएको छ ।