काठमाडौं : सरकारले यो वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यसका लागि अहिले तयारी गरिरहेको छ।
विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेका छन्। प्रदेश अन्तर्गत भने प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेश साक्षर घोषणा भएका छन्।
‘अब बाँकी २० जिल्ला र चार प्रदेश छन्, ’प्रवक्ता लुइँटेलले भने। उनका अनुसार यो वर्षभित्र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, सुदुरपश्चिम प्रदेशको बाजुरा, डोटी, बझाङ, कैलाली र कञ्चनपुर गरी ७ जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य छ।
सोलुखुम्बु जिल्लाका सबै स्थानीय तहमा साक्षर घोषणा तयारी भइसके पनि औपचारिक रुपमा भने गर्न बाँकी रहेको विकास केन्द्रले जनाएको छ। गत चैत २९ गते घोषणा गर्ने कार्यक्रम थियो तर आउँदै गरेको स्थानीय तहको निर्वाचनका कारण कार्यक्रम स्थगित गरिएकाे जनाइएकाे छ।