November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

सगरमाथा: महिलाको नयाँ कीर्तिमानको तयारी गरेकी नेपाली महिलाले फहराउने छिन अमेरिकी झन्डा

काठमाडाैं । लाक्पा शेर्पाको जन्म ओडारमा भएको थियो। उनले औपचारिक शिक्षा हासिल गरेकी छैनन्। पहिले उनी चौकीदारको रूपमा काम गर्थिन्। एकल आमा रहेकी उनले सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी छन्।

अहिले उनी आफ्नो वर्चस्व बढाउने अभियानको उत्कर्ष नजिक छिन्।

“म आफ्नो उद्देश्य प्राप्ति र पर्वतारोहणमा इतिहास बनाउने कामको निकै नजिक छु। म दशौँ पटक सगरमाथा आरोहण गर्नका निम्ति तयारी गरिरहेकी छु,” आरोहण सुरु गर्नुअघि शेर्पाले बताइन्।

Advertisement

पन्ध्र वर्षीय उनकी कान्छी छोरी शाइनी यति बेला आधारशिविरमा छिन्। उनी बढो उत्सुकतापूर्वक र रोमाञ्चित हुँदै आफ्नी आमाको प्रगति नियालिरहेकी छिन्।

“म सधैँ मेरी आमाको सम्मान र प्रशंसा गर्छु। उनले रित्तो छँदा पनि धेरै कुरा हासिल गरेकी छन्,” शाइनीले भनिन्।

तर शेर्पाको कडा मिहिनेत र उपलब्धिहरूले अझै पनि व्यावसायिक उडान दिलाएको छैन। उनले पाउनु पर्ने जति चर्चा र सम्मान पाएकी छैनन्।

ओडारमा जन्म

शेर्पाको जीवनको सुरुवात समुद्री सतहबाट ४,००० मिटरमा अवस्थित हिमाली गाउँमा भएको हो।

“म ओडारमा जन्मिएकी हुँ। मलाई त मेरो जन्म मिति समेत थाहा छैन। पासपोर्टका अनुसार म ४८ वर्षकी भएँ,” उनले भनिन्।

उनी शेर्पा जातीय समुदायकी हुन्।

फिरन्ते तिब्बतीहरूको वंश मानिने शेर्पाहरू प्राय: विकट उच्च भूभागमा बसोबास गर्छन्।