November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार नेकपा एमाले निकट युवा संघ नेपालका नेता कार्यकर्ताहरूले इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंको बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा उक्त सडक खण्ड केहीबेर सवारी आवागमन प्रभावित भएको हो । सरकारले आगामी साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो ।

यसै क्रममा यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबारै विज्ञप्ति जारी गर्दै साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ ।

Advertisement

२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।