काठमाडौं । डलर साट्ने भन्दै आठ लाख रुपैयाँ ठगी गरी फरार व्यक्ति पक्राउ परेका छन् । डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका–१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ ।
कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।