काठमाडौं । दाङमा श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ४२ वर्षीय उज्ज्वल चनारा रहेका छन् ।
प्रहरीका अनुसार चनाराले २८ वर्षीया श्रीमती माया श्रेष्ठ चनारालाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेपछि नियन्त्रणमा लिएको हो ।
श्रीमानले दिउँसो आगो लगाउने भन्दै घरमा पेट्रोल छर्किएपछि मायाको शरीरमा पनि पेट्रोल छर्किएका थिए । श्रीमानले सलाई कोरेर आगो लगाउन खोजेपछि आफूले सलाई खोसेर मुख भित्रै चपाएको, त्यसपछि ग्याँस चुलो बालेर प्लाष्टिक सल्काएर श्रीमानले आफूमाथि आगो फालेर बाहिरबाट ढोकाको चुकुल लगाइदिएको मायाले बताइन् ।
कपडामा ह्वारह्वार्ती आगो बल्न थालेपछि चिच्याउँदै छतमा पुगेको, त्यसपछि छिमेकीको घरमा हाम फालेर सडकमा पुगेपछि आसपासका सबैले मिलेर आगो निभाइ दिएको उनले बताइन् ।
माया र उनको श्रीमानको ६ वर्षीया एक छोरी छिन् । मंगलबार छोरी विद्यालयमा गएको समयमा घटना घटेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक आफूलाई श्रीमानले यातना दिने तथा हत्याको प्रयास गरेको मायाले बताइन् ।
तुलसीपुरमा ब्यूटिपार्लर गर्दै आएकी मायाले छोरीको भविश्यका कारण आफू अनेक यातना सहेरै भए पनि बस्दै आएको बताइन् ।
घाइते मायाको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरेको छ । उनको हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउखत छन् ।
यसअघि एक पटक श्रीमानले आफूलाई भारतको चन्ढीगढमा एक्लै छोडेर भागेको गुनासो गरिन्।
प्रहरी नियन्त्रणमा रहेका उज्वलले भने श्रीमतीलाई नभई आफैंले आत्महत्या गर्न खोजेको दाबी प्रहरी समक्ष गरेको डिएसपी अर्यालले बताए।
यसअघि मायाले अदालतमा समेत आफू र छोरीले खान लाउन नपाएको तथा श्रीमानले यातना दिएको भन्दै निवेदन दिएकी थिइन्।
‘पेशाले जेसिबीका चालक उज्वललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो,’ डिएसपी अर्यालले भने, ‘थुनामा राख्दा पनि उहाँले भित्रै कराउने चिच्याउने टाउको भित्तामा ठोक्ने जस्ता हर्कतहरु गरी हैरान पार्नुहुन्थ्यो।’
उज्वल र मायाको विवाद यसअघि पनि पटक–पटक प्रहरीमा आएको रेकर्ड रहेको डिएसपी अर्यालले जानकारी दिए।
अस्पतालमा उपचाररत माया बुधबार डिस्चार्ज भएपछि घटनाबारे थप कुरा भन्न सकिने डिएसपी अर्यालले बताए।
‘उहाँ आज डिस्चार्ज भएपछि प्रहरीले घटनाबारे अथार्थ बुझ्नेछ,’ डिएसपी अर्यालले भने, ‘अहिले श्रीमान–श्रीमती दुबैका आ–आफ्नै दाबी छन्।’
पीडित मायाको जाहेरीको आधारमा कानुनी कारबाहीको पक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।