काठमाडौं । श्रीमतीको हत्या गरेको र सामूहिक बलात्कार मुद्दाका दुई जना प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार रहेका दुई जना छुट्टाछुट्टै मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाइटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरूलाई प्रहरीले बाँकेको जमुनाहास्थित नेपाल–भारत सीमाबाट मंगलबार पक्राउ गरेको हो ।
अच्छन अलि अन्सारीले २०७५ असार ३१ गते दाइजो कम ल्याएको निहुँमा आफ्नी श्रीमती रूवी अन्सारीसँग विवादमा रूवीको टाउकोमा लाठी र भाला प्रहार गरी घाइते बनाएका थिए । घाइते भएकी रूवीको उपचारको क्रममा साउन २१ गते मृत्यु भएको थियो । उनको उपचारको क्रममा लखनउमा मृत्यु भएको थियो ।
श्रीमती हत्याको मुद्दामा अदालतले उनलाई २०७७ चैत ९ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।
त्यसैगरी जोहरू भाट बलात्कार मुद्दाका फरार व्यक्ति हुन् । २०७० साल भदौ ७ गते बाँकेको तत्कालीन सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा उनीसहित दुई जनाले दाउरा खोज्न गएकी महिलामाथि सामूहिक बलात्कार गरेका थिए ।
यस मुद्दामा गत असार १४ गते अदालतले जोहरूलाई सात वर्ष कैद र ५० हजार क्षतिपूर्ति दिन आदेश दिएको थियो ।
उनीहरूको फैसला कार्यान्वयनको लागि बुधबार बाँके जिल्ला अदालतमा पेस गरेको सिआइबीले जनाएको छ ।