पाँचथर । जिल्ला अदालत पाँचथरले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट दुई हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले बताए ।
पीडितलाई आरोपितले ०७८ असोज ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज ३१ गते गिरफ्तार गरेको थियो । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ कात्तिक १४ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ असोज ३१ गते गरिएको थियो ।