पाँचथर । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै छन् । सिसेक्पा भन्नाले साउन महिना र तङनाम भन्नाले पर्व भन्ने बुझिन्छ ।
साउने सङ्क्रान्तिलाई किराँती लिम्बु समुदायले सिसेक्पा तङनाम भनेर मनाउने गर्दछन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।
सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गएर साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात सङ्कलन गरी ल्याउने गर्दछ ।
दिउँसो हरियो बाबियोको डोरी बाटेर त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सिसेक्पा तङनाम पूर्वी जिल्लाहरु पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी र लिम्बु समुदायको बसोबास रहेको काठमाण्डौ उपत्यका साथै छिमेकी देश भारतको सिक्किममा पनि मनाइन्छ ।
सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमुली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछन् ।
भूतप्रेत वा भौतिक शत्रु चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख–पीडा’लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी उनीहरूले गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किराँत धर्मका जनकारहरूको भनाइ छ ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी÷जनजातिहरू पूर्वका किराँत, लिम्बू, राई तराईका थारू र पश्चिमका मगर आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङ्नामका रुपमा मनाउँदै आएको बताइन्छ । “सिसेक्पा तङ्नाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउने गरेको बताइन्छ ।