काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । उनले काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ(क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले बुधबार मात्र खेलाडीहरूलाई जानकारी दिएका हुन् ।
दासानायकेले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । ‘मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । मैले क्यानडामा परिवारलाई समय दिन आवश्यक छ । अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन ।’, उनले भने ।
त्यस्तै उनले नेपालको अहिलेको टिम उत्कृष्ट भएको र विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने बताए ।
दासानायकेले गत डिसेम्बरमा नेपालको प्रशिक्षकका रूपमा दोस्रो पटक जिम्मेवारी सम्हालेका थिए । पहिलो कार्यकालमा सफल मानिएका दासानायकेको नेतृत्वमा दोस्रो कार्यकालमा भने नेपालले उल्लेख्य प्रदर्शन गर्न सकेन । फेब्रुअरीमा विश्वकप छनोटमा शीर्ष २ मा पर्ने लक्ष्य राखे पनि नेपाल तेस्रो भएको थियो ।