November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

कैदीबन्दीको सिदा र पर्व खर्चमा वृद्धि

काठमाडौं । कैदीबन्दीको नगद भत्ता (नगद सिदा) वृद्धि हुने भएको छ । विभिन्न कसुरमा कैद भुक्तानरत र मुद्दाको किनारा नलागेर पुर्पक्ष थुनामा रहेका कैदीबन्दीले हाल दैनिक पाउँदै आएको नगद भत्ता रकम ६० रुपैयाँबाट बढाएर ८० प्रस्ताव गरिएको हो ।

उनीहरुले पाउने दैनिक भत्ता र दसैं खर्चबापतको रकम वृद्धि गर्न गृह मन्त्रालयले कारागार नियमावली– २०२० संशोधन प्रक्रिया अघि बढाएको हो । गृह मन्त्रालयका अनुसार साउनबाटै बढेको भत्ता पाउने गरी नियमावली संशोधन गर्न लागिएको छ ।

यस्तै, चाडपर्व खर्चबापत प्रत्येक वर्ष कैदीबन्दीले एकमुष्ट ३ सय रुपैयाँ पाउँदै आएकामा अब १ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । कारागार व्यवस्थापन विभागले दैनिक भत्ताबापत शतप्रतिशत अर्थात् १ सय २० रुपैयाँ र चाडपर्व खर्चबापत एक वर्षमा एकमुष्ट ५ हजार रुपैयाँ दिन विभागले प्रस्ताव गरेको थियो । तर, विभागको प्रस्ताव संशोधन गर्दै पर्व खर्च १ हजार र दैनिक भत्ता ८० कायम गर्ने गरी अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ ।

Advertisement

दैनिक रूपमा कैदीबन्दीलाई दिइँदै आएको चामलको परिमाण भने यथावत् राख्न प्रस्ताव गरिएको छ ।