सिरहा । हात्तीले सिरहाको लहान नगरपालिका–१५ स्थित उत्तरवर्ती चुरे क्षेत्रका मोहनपुर र लग्रहाका ७ घर भत्काएका छन् । गएराति दुई वटा समूहमा पुगेका हात्तीले बस्तीमा पसेर घरहरु भत्काएका हुन् ।
जंगली हात्तीले मोहनपुरका कपले यादव, लग्रहाका राम सदाय, लक्ष्मी, शिव कुमारी, दिपेन र सरोज सदायका ७ वटा फुसको घर भत्काएको हो । हात्तीले घर भत्काउनुका साथै अन्नबालीसमेत नष्ट गरेको लहान नगरपालिका–१५ का वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।
हात्तीले घर भत्काएको बस्तीमा पुगेर लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले पीडितहरुलाई तत्काल जस्तापाता, त्रिपाल र खाद्यान्नसहित राहत उपलब्ध गराउने बताए । गत वर्ष पुसमा जंगली हात्तीको समूह मोहनपुर गाउँ पसेर स्थानीयको घर भत्काएको थियो ।