सर्लाही । स्रोत नखुलेको नगद र सुन सहित दुई जना पक्राउ परेका छन् । बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् ।
नाँयारोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।