काठमाडौं । बलात्कारको मुद्दामा फसाउने धम्की दिई रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुष पक्राउ परेका छन् । एक व्यवसायीलाई धम्की दिई १२ लाख असुलेको अभियोगमा उनीहरुलाई प्रहरीले घोराहीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन् ।
उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । सुरुमा उनीहरुले घोराही बजारमा रहेको घेडेरी माग गरेको र पछि १२ लाख २० हजार रुपैयाँ लिएको उनले जानकारी दिए । उनीहरुले १ लाख नगद, २÷२ लाखका दुई थान चेक र ७ लाख २० हजारको अर्को चेक लिएको उनले बताए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगर समेतको सहभागितामा एक महिनादेखि दिनेशलाई फसाएर रकम असुल्ने योजना बनेको प्रमाणहरु फेला परेका छन् ।
अजय र लोकेन्द्र फरार रहेको र उनीहरुको खोजी भइरहेको गौतमले जानकारी दिए । गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना उनीहरुले बनाएका थिए । कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरुले रकम असुलेका थिए ।
उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।