काठमाडौं । नेपाली कांग्रेस मात्र नभइ बामपन्थीहरुका पनि राजनीतिक गुरु मानिएका प्रदीप गिरीको निधनले नेपालीहरुलाई स्तब्ध बनाएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ निधन भएको हो ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका उनी समाजवाद र माक्र्सवादका बारेमा घन्टौं प्रवचन दिन सक्थे । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्री गिरी नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका नेताका रुपमा चिनिन्छन् ।
उनका बुवा मित्रलाल पनि राजनीतिमै सक्रिय थिए । बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरेका थिए । लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं.२०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उनी झण्डै चार वर्ष जेल बसेका थिए ।
मन्त्री बन्ने लालसमा कहिल्यै नलागेका गिरी २०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका थिए । उनी ०५६ चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा उनस् सक्रिय थिए । गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए ।
२०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र संघको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका उनले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरिरहेका थिए । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका नेता गिरी बामपन्थी नेताहरुलाई पनि समाजवाद र माक्र्सवादका विषयमा प्रशिक्षण दिने गर्थे ।
नवीन नेपाल निर्माणको संकल्प र दृष्टिकोणमा खरो उत्रने गिरी पाको पुस्तादेखि युवासम्म लोकप्रिय थिए । सादगी जीवन र प्रष्ट दृष्टिकोण उनको परिचय थियो । उनी राजनीति, समाजवाद, माक्र्सवाद र अर्थशास्त्रका समेत विश्वविद्यालय नै थिए ।
गिरिका श्रीमती र एक छोरा छन्। गिरिको परिवारमा पाँच भाइ दाजुभाइ र तीन दिदीबहिनी थिए । उनी माइला हुन् । उनी सरकारी सुविधा लिन मान्दैनथे । समकक्षी नेता तथा सांसदहरु पजेरो चढ्दा आफू भने सामान्य जीवनयापनबाटै संसदीय भूमिका निर्वाह गर्नुपर्छ भन्थे। हालसम्म उनले आफ्नो उपचार आफैं गराएका थिए । उनले आफ्नो पार्टी र सरकारसँग सहयोग मागेनन् । भीमसेनगोलाको आफ्नो घर बेचेर उपचारमा खर्च गरेको भनेर बाहिर चर्चा हुने गरेको छ । घर बेचिसकेपछि उनी टोखामा घरभाडा लिएर बस्दै आएका थिए।