काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा पार्टीले हार ब्यहोरे पनि कांग्रेस सधैँ मुलुकको राष्ट्रिय शक्तिको रूपमा रहने बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको प्रजातान्त्रिक विषयमा छलफलमा बोल्दै सभापति थापाले कांग्रेसको ऐतिहासिक जग र भूमिकाका कारण निर्वाचनको तात्कालिक परिणामले पार्टीको राष्ट्रिय चरित्रलाई बदल्न नसक्ने बताएका हुन् ।
‘राष्ट्रिय शक्ति भएको कारण कांग्रेसले क्षणिक लाभ र हानि हेरेर राजनीति गर्नु हुँदैन। राष्ट्रिय राजनीतिमा उठ्ने गम्भीर विषयहरूमा प्रतिक्रिया मात्रै जनाउने भन्दा पनि पार्टीले मुलुकलाई सही दिशा निर्देश गर्नुपर्छ’, थापाले भने ।
सभापति थापाले वर्तमान राजनीतिक परिस्थितिमा आम नागरिकले नेपाली कांग्रेसमाथि नै विश्वास गर्नुपर्ने भन्दै निर्वाचनपछि बन्ने सरकार र जितेर आउने दलसँग शक्ति हुने भए पनि त्यस्तो शक्तिको आफ्नै सीमा हुने उनले बताए ।
उनले थपे, ‘निर्वाचन जितेर आउने दलमा शक्ति त हुन्छ, तर त्यसको सीमितता बुझ्न जरुरी छ। जनताले देखाउने एक प्रतिशत असन्तुष्टिलाई पनि सरकारले उपेक्षा गर्नु हुँदैन, त्यसको उचित सम्बोधन गरिनुपर्छ ।’