बुटवल । मृत्यु भएको भनिएको व्यक्तिलाई पास्टरले जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमाथि प्रहरीले अनुन्धान थालेको छ । भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।
उक्त भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको प्रार्थानापछि केही बेरमा जुरुक्क उठेर सरासर हिँडेको देखिन्छ । त्यसपछि गोतामेले महिलालाई जीवित येशुलाई धन्यवाद दिन भनेका छन् ।
भिडियोमा उनकी सासु भनिएकी एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।
विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालमै कारबाहीको माग उठेको छ । कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न निर्देशन दिएका छन् ।
प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेको बताइएको छ ।